गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
बाँके | कात्तिक ३०, २०८१
बाँके: नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुग्नुभयो ।
बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेडा जुधाउँदै आउनुभएका साइला यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ ।
“लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका साइलाले भन्नुभयो, “सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छभने त्यसको मूल्य रु २५–३० हजार भइहाल्छ ।”
जानकी गाउँपालिका–६ कपासीबाट भेडा जुधाउन आउनुभएका सर्नाम खाँ यो खेल सौखका लागि हुने गरेको बताउनुहुन्छ । “भेडा लडाउने हाम्रो सौख हो, पाल्ने, लडाउने हारेपछि बुच्चडलाई दिने”, खाँले भन्नुभयो, “लडाकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।”
उहाँका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडा गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु ३० हजार पर्छ ।
भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरेको जानकी–४ का भेडापालक किसान दौलतप्रसाद यादवले बताउनुभयो ।
मेलामा भेडापालक किसान स्वस्फूर्त रूपमा भेडा जुधाउन आउने गरेको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक टीकाराम यादवकोे भनाइ छ । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उहाँले बताउनुभयो ।
जानकी गाउँपालिका–५ स्थित गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुगेका शालिकराम यादव प्रत्येक वर्ष आउने गरेको बताउनुहुन्छ ।
गुरुवागाउँका ९५ वर्षीय भगौतिप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखि नै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउनुहुन्छ ।
“पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैन्थ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएका छन्”, उहाँले भन्नुभयो । भेडा जुधाइ शनिबारसम्म चल्नेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

